काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समिति अध्यक्ष ली झान्सु आज उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुने भएका छन् । उनले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन्। यस्तै परराष्ट्रमन्त्री नारायण खड्का, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेना तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन् । नयाँ बानेश्वरस्थित संसद भवनमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सेनासँग बिहान ९ बजे भेटवार्ताको तालिका छ ।
यस्तै, उनले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डलाई पनि सङ्घीय संसद् भवनमै भेट्ने कार्यक्रम तय भएको छ। त्यसपछि परराष्ट्रमन्त्री नारायण खड्कासँग होटल सोल्टीमा भेटवार्ता हुनेछ। त्यसपछि प्रधानमन्त्री देउवालाई भेट्न उनी बालुवाटार जानेछन्। उनले भोलि बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति भवन शीतल निवासमा भेट्ने कार्यक्रम छ। सङ्घीय संसद्का सभामुख अग्निप्रसाद सापकोटाले चीनको राष्ट्रिय जनकङ्ग्रेसका अध्यक्ष लीको सम्मानमा सोमबार साँझ रात्रिभोजको आयोजना गरेका थिए।
त्यसअघि नेपालको सङ्घीय संसद्को प्रतिनिधि सभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस (नेसनल पिपुल्स कङ्ग्रेस) बीच अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। अध्यक्ष लीको नेतृत्वमा आएको ६ जना चिनियाँ उच्चअधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल बिहीबार फर्कने कार्यक्रम रहेको छ।