न्यूयोर्क । आगामी नोभेम्बरमा न्यूयोर्क स्टेट १०३, डिस्ट्रिक्ट मिड हडसन भ्यालीमा हुने एसेम्बली जेनेरल चुनाबमा नेपाली चेली सराहाना श्रेष्ठ उम्मेदवार बन्ने भएकी छिन् । यसबारे एक कार्यक्रम आयोजना गरी नेपाली समाजमा अबगत गराइएको छ । ड्रम सङ्गठनको भगिनी इकाई ज्याक्सन हाईटस्थित ड्रम बिट्सले अघिल्लो साता सराहाना श्रेष्ठसंग नेपाली समुदायको अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
ड्रम बिट्सले ड्रम संगठनको भगिनी इकाईको हैसियतले नेपालीहरुको हरेक समस्याहरुलाई शसक्त रुपमा उठाउने गर्छ ।
ड्रम बिट्स संगठनले दक्षिण एसिया र इन्डो(क्यारेबियन समुदायको मजदुर वर्गमा राजनीतिक शक्ति निर्माण गर्नको निमित्त काम गर्दै आएको छ । यस कार्यक्रमको मुख्य उदेश्य आगामी नोभेम्बर महिनामा न्युयोर्क स्टेट एसेम्बली डिस्ट्रिक १०३, मिड हड्सन भ्यालीमा हुने जेनेरल चुनाबको प्रतिस्पर्धामा उत्रेकी उम्मेदवार पहिलो नेपाली चेली सराहाना श्रेष्ठलाई अधिकतम भोटले जिताउनु रहेको संस्थाले जनाएको छ ।

सो अवसरमा सामाजिक र मानवाधिकाका क्षेत्रमा आवाज उठाई रहेको संस्था ड्रम बिट्स टिम, कम्युनिटी भोलेन्टियर्स, ल्पानिंग टिम, नेपाली मिडिया, सामाजिक अभियन्ता, सामाजिक आयोजकको साथै डिस्ट्रिक ३६ एस्टोरिया क्षेत्रबाट बिधानसभाको सदस्य जोहराम मामदानी र डिस्ट्रिक ३० बाट विधानसभा सदस्य उम्मेदवार स्टेभन रागा समेत उपस्थित भए ।

यस कार्यक्रममा खुल्ला रुपमा सामाजिक न्याय, मानब अधिकार, आर्थिक भेदभाब सम्बन्धमा चर्चा परिचर्चा गरिएको थियो । कार्यक्रममा नेपाली समुदाय र सराहना श्रेष्ठबीच खुला छलफल बाट उनलाई व्यक्तिगत रूपमा चिन्ने वातावरण बनाइएको थियो ।