महिला साफ च्याम्पियनसिप : भारतमाथि नेपालको ऐतिहासिक जित

काठमाडौं । भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतमाथि १–० को जित निकाल्यो । महिला साफ च्याम्पियनसिपको इतिहासमा नेपालले भारतलाई हराएको यो नै पहिलो पटक हो । हजारौं समर्थकको बीचमा नेपाललाई जिताउन रश्मीकुमारी घिसिङले निर्णायक गोल गरिन् ।

पहिलो हाफको अन्तिम मिनेटमा प्रिती राईको पासमा उनले निर्णायक गोल गरिन् । पाँच पटकको बिजेता भारतले पनि दोश्रो हाफमा गोलका लागि केही अवसर बनाए पनि फिनिसिङ गर्न सकेन । समूह चरणमा नेपालले भुटानलाई ४–० र श्रीलंकालाई ६–० ले हराएको थियो । अब नेपालले उपाधिका लागि बंगलादेशसँग सोमबार खेल्नेछ । नेपाल फाइनलमा पुगेको भने पाँचौं पटक हो । यसअघि चार पटक नै नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।