काठमाडौं । दशैँ मनाउने गरी काठमाडौँ उपत्यका छाड्ने यात्रुको सख्या १२ लाख पुगेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार पछिल्लो एक साता (५ असोजयता) मात्र ११ लाख ९१ हजार ९८८ यात्रु राजधानीबाट दशैं मनाउन बाहिर गइसकेका छन् ।
काठमाडौंबाट सबैभन्दा धेरै मानिस षष्ठी र सप्तमीको दिन बाहिरिन्छन् । यस अवधिमा राजधानी भित्रने यात्रु भने करीव आधाले कम भइसकेको छन् ।
तथ्यांक अनुसार एक सातामा सात लाख ६९ हजार यात्रु राजधानी छिरेका छन् । । सवारी साधन अनुसार गरिएको गणनामा यस अवधि भित्र एक लाख ३७ हजार सवारी साधन बाहिरिएको र एक लाख १७ हजार भित्रिएको तथ्यांक रहेको छ ।
प्रहरीका अनुसार दशैँमा घर जाने प्रयोजनका लागि एक लाख २७ हजार ३०६ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन् ।
त्यसो त धेरैजसो यात्रु रिजर्भ सवारीमा जाने भएकाले पनि अग्रिम बुक गर्ने मानिसहरु अब क्रमशः घट्दै गएका छन् ।
राजधानीबाट बाहिरिने यात्रुको व्यवस्थापनका लागि मात्र प्रहरीले १ हजार जनशक्ति खटाएको छ । मापसेलाई कडाईकासाथ चेक गरिएको प्रहरीको भनाई छ ।
लामो दुरीका सवारीमा दुई जना चालक नराख्ने, यात्रुसँग तोकिएभन्दा बढी भाडा असुल गर्ने र दुख दिने नियत राख्नेहरुमाथि कारवाही भइरहेको प्रहरीले जनाएको छ ।