राष्ट्रपतिबाट ७०२ जना कैदी बन्दीको कैद माफ

काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ७०२ जनाको कैद माफी भएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले विभिन्न मितिमा अदालतबाट भएका फैसला बमोजिम ७०२ जनाको कैद सजाय माफी मिनाहा गरेकी छिन् । राष्ट्रपति भण्डारीले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयको सूचीमा रहेका महेन्द्रप्रसाद कानुसहित २१ जनालाई कैद सजाय माफी गरेकी छिन् ।

त्यसैगरी राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसुर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशका आधारमा असल चालचलन भएका पासाङ शेर्पासहित २०३ र इन्द्रकुमार लिम्बूसमेतका ४७८ गरेर जम्मा ६८१ जनाको कैद माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । नेपालमा सोमबार संविधान दिवस मनाईदै छ ।