काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपमा नेपाल पुनः उपविजेतामा सिमित भएको छ । दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ गोलले पराजित भयो । साफ महिला फुटबलमा नेपाल फाइनलमा पराजित भएको यो पाँचौ पटक हो । उता, बंगलादेशले भने छैटौँ संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि जित्दै नयाँ ईतिहास कायम गरेको छ । दशरथ रंगशालामा सोमबार भएको फाईनलमा १५ हजार बढी घरेलु दर्शक अघि नेपाललाई ३–१ ले पराजित गर्दै बंगलादेशले पहिलो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको हो ।
पहिलो हाफमा २–० ले पछि परेको नेपालले ७० औं मिनेटमा गोल फर्काएको थियो । नेपालका लागि अनिता बस्नेतले गोल गरिन् । बस्नेतको गोलमा नेपाल खेलमा पर्किन खोजे पनि ७७ औं मिनेटमा बंगलादेशले अर्को गोल थपेर खेल आफ्नो पक्षमा पारेको हो । हारसँगै महिला टीमका प्रशिक्षक कुमार थापाले आफ्नो जिम्मेवारी छाडेको घोषणा गरे ।