लण्डन। बेलायतकी महारानी एलिजावेथ द्वितीयाको राजकीय सम्मानका साथ सोमबार अन्त्येष्टि भएको छ । लन्डनको ऐतिहासिक वेस्टमिन्स्टर आबी गिर्जाघरमा अन्तिम संस्कार समारोह आयोजना गरिएको थियो । स्थानीय समयअनुसार सोमबार बिहान आयोजित समारोहमा बेलायतका नयाँ राजा चार्ल्स तृतीय, रानी (क्विन कन्सोर्ट) कमिला, अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी श्रीमती, फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रों, ६ जना बेलायती पूर्वप्रधानमन्त्री, युरोपेली शाही परिवारका सदस्यहरू, विभिन्न देशका नेता गरी झन्डै २ हजार जना सहभागी भए ।
अन्त्येष्टि समारोहमा नेपालबाट परराष्ट्रमन्त्री नारायण खड्काले भाग लिएका छन् । अन्त्येष्टि समारोहको नेतृत्व गरेका डिन अफ वेस्टमिन्स्टर डेभिड होइलले स्वर्गीय रानीले आजीवन वहन गरेको उत्तरदायित्वप्रति कृतज्ञता व्यक्त गरे । होइलले एलिजाबेथ द्वितीयाले महारानी र राष्ट्रमण्डलको प्रमुखका रूपमा कैयौं वर्षसम्म उच्च जिम्मेवारीका लागि अटल प्रतिबद्धता प्रस्तुत गरेको पनि बताए ।
महारानीको शवपेटिका वेस्टमिन्स्टर आबी प्रवेश गर्दा श्लोकहरू गाइएको थियो भने प्रधानमन्त्री लिज ट्रसले पनि धार्मिक ग्रन्थको एक अध्याय पाठ गरेकी थिइन् । समारोहको अन्त्यतिर ‘द लास्ट पोस्ट’ धुन बजाइएपछि देशभर दुई मिनेट मौनधारण गरिएको थियो । शवपेटिका वेस्टमिन्स्टर एबी ल्याउँदै गर्दा स्कटिस तथा आइरिस रेजिमेन्टहरू, ब्रिगेड अफ गोर्खाज र रोयल एअर फोर्सका सैनिकहरूले शोक धुन बजाएका थिए । बेलायतको इतिहासमै सबैभन्दा बढी ७ दशकसम्म शासन गरेकी महारानी एलिजावेथ द्वितीयाको गत सेप्टेम्बर ८ मा निधन भएको थियो ।