गोठाटार हत्याकाण्डको अनुसन्धान गर्न प्रहरीले बनायो विशेष समिति

घटनास्थल

काठमाडौं । अज्ञात समूहको गोलीबाट गोठाटारमा मारिएका लाल मोहम्मदको घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले विशेष समिति गठन गरेको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज भट्टराईको नेतृत्वका मंगलबार पाँच सदस्यीय समिति बनाइएको उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रवीन्द्रबहादुर धानुकलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । भट्टराई उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख हुन् ।

सोमबार साँझ साढे ६ बजे गोठाटारस्थित एभेन्जर इन्टरप्राइजेज नामक गोर्मेन्ट उद्योग अगाडि मोहम्मदलाई गोली हानेर अज्ञान समूहले हत्या गरेको थियो । उनलाई ‘मेड इन यूएस’ लेखिएको पेस्तोलबाट चार राउण्ड गोली हानिएको पाइएको छ । उनको हत्यामा संलग्न तीनजना व्यक्ति घटनास्थल नजिकै रहेको होटल कोशिपारि गेष्ट हाउसमा बसेका पाइएको छ । प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गर्न सकेको छैन ।