अरिङ्गालको गोलो पोल्न १० हजार पारिश्रमिक दिनु परेपछि…

काठमाडौं । तपाई गाउँघरमा हुर्किएको भए अरिङ्गालको गोला पोलेको पक्कै याद हुनु पर्छ । यसका लागि पारिश्रमिक त पाउने कुरै थिएन, वे पाइथ्यो, त्यसैमा चित्त बुझाउनु पर्नें हुन्थ्यो । तर, काठमाडौंमा भने १० हजार पारिश्रमिक दिएर गोलो पोल्नु परेकोछ । नेपाल विद्युत् प्राधिकरणले स्थानीयलाई १० हजार पारिश्रमिक दिएर काठमाडौंको मातातीर्थस्थित विद्युत् प्रसारण लाइनको टावरमा रहेको अरिङ्गालको गोलो पोलेको हो ।

तीन जना मान्छेलाई उनीहरुले मागे अनुसार १० हजार रुपैयाँ पारिश्रमिक दिएर शनिबार बेलुका अरिङ्गालको गोलो पोलिएको काठमाडौ ग्रिडका प्रमुख ई. विनोद लोहनीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । लोहनीका अनुसार अरिङ्गालको गोला पोलिसकिएकाले आइतबार बिहानबाट तार जोड्ने काम सुरु हुँदैछ । मातातीर्थ(हेटौंडा १३२ केभी प्रसारण लाइनको टावरमा अरिङ्गालको गोलो देखेपछि प्राधिकरणका कर्मचारीले जम्पर (तार जोड्ने मुख्य ठाउँ) जोड्न सकेका थिएनन् । त्यसपछि विद्युत प्राधिकरणले अरिङ्गाल पोल्न सक्ने मान्छे आवश्यक परेको सूचना सामाजिक सन्जालमा राखेको थियो ।