काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि खसीबोकाको स्वास्थ्य परीक्षण हुने भएको छ । पशुसेवा विभागका अनुसार दशैंलाई लक्षित गरी खसीबोकाको स्वास्थ्य परीक्षण गरिने छ । दशैँमा उपभोक्ताको स्वास्थ्यमा असर पर्ने अस्वस्थकर खसीबोका कारोबार हुन सक्ने आशंकाका बीच स्वास्थ्य परीक्षण गर्न लागिएको हो । आजदेखि १८ गते नवमीसम्म ५० जना पशु चिकित्सक विभिन्न बजारमा अनुगमनमा खटिने भएका छन् ।
उनीहरुले खसीबोकाको स्वास्थ्य परीक्षण गर्नेछन् । विभागले कलङ्की, टुकुचा, चन्द्रागिरि, चाल्नाखेल, बालाजु, टोखा, बल्खुु, लोकन्थली, सल्लाघारीमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको छ । खसिबोका आयात हुने मुख्य नाका र कारोबार हुने ठाउँमा स्वास्थ्य परीक्षण गरी स्टिकर लगाइनेछ । खानयोग्य खसीबोकालाई हरियो र अयोग्यलाई रातो स्टिकर लगाइनेछ । उपत्यकामा ५० देखि ६० हजार सङ्ख्यामा खसीबोका खपत हुनेगर्छ ।
जाजरकोट, सल्यान, बैतडी, डडेल्धुरा, अछाम, नेपालगञ्ज, गुल्मी, पाल्पा, झापा, इलाम, ओखलढुङ्गालगायतका जिल्लाबाट खरिद गरी उपत्यकामा ल्याएर खसीबोका बिक्री गर्छन् । भारतको लखनउ, हरियाणा, राजस्थानबाट पनि खसी आउँछ ।