काठमाडौं १ बाट रवीन्द्र मिश्रको उम्मेदवारी घोषणा

THT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले उम्मेदवारी घोषणा गरेका छन् ।

विवेकशील साझा त्यागेर राप्रपासँग एकीकरण गरेका उनले आज प्रतिनिधिसभा निर्वाचनका काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारी घोषणा गरेका हुन् ।

मिश्र २०७४ को संसदीय चुनावमा पनि सोही क्षेत्रमा उमेदवार रहेका थिए । उनी त्यसबेला नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग थोरै मतान्तरमा पराजित भएका थिए ।

घोषणा गर्दै मिश्रले काठमाडौं १ बाट चुनाव जित्दै आएका कांग्रेस नेता प्रकाशमानले १५ वर्षसम्म केही काम नगरेको आरोप लगाए ।

‘संसद् भवन काठमाडौं १ मा पर्छ । एकजना व्यक्ति १५ वर्षदेखि यहाँबाट सांसद बन्नुभएको छ । उहाँलाई सोध्नुस् १५ वर्षमा कति दिन संसद् चल्यो ? कति दिन उपस्थित हुनुभयो । १५ वर्षमा के गर्नुभयो ?’, उनले प्रश्न गरे ।

बस्न योग्य नभएको काठमाडौंलाई व्यवस्थित बनाउने आफ्नो योजना रहेको मिश्रले बताए । ‘यहाँका सांसद बाल्यकालमा बागमतीको पानी पिउनु हुन्थ्यो, अहिले छुन सकिँदैन । बागमतीको यो अवस्थाबारे संसद्मा कति पटक आवाज उठाउनु भयो ?’ उनले प्रश्न गरे ।