बलात्कारको झुटो जाहेरी दिएपछि एक महिला पक्राउ

काठमाडौं । बलात्कारको झुटो जाहेरी दिएपछि भक्तपुरमा एक महिला प्रहरीको फन्दामा परेकी छिन् । नवलपरासीको वर्दघाट चिसापानी घर भई काठमाडौंको जडिबुटी डेरा गरी बस्ने ३४ वर्षकी महिलाले झुटो जाहेरी दिएको पुष्टी भएपछि पक्राउ परेकी हुन् । प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजु पाण्डेलाई उदृत गर्दै सञ्चारमाध्यमले यस्तो जानकारी गराएका छन् ।

ती महिलाले आफूलाई भक्तपुरको लोकन्थलीमा ल्याई अचेत बनाई एक पुरुषले जबरजस्ती करणी गरेको भनि प्रहरी वृत्त थिमीमा जाहेरी दिएकी थिइन् । तर उक्त निवेदन उपर अनुसन्धान गर्दा उक्त प्रकृतिको कुनै पनि घटना नभएको र उक्त पुरुष व्यक्तिलाई फसाउने नियतले कपोलकल्पित घटना बनाई जाहेरी दरखास्त दिएको फेला परेको डीएसपी पाण्डेले बताए । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीको
भनाई छ ।