देशभरका दशैं घरमा भित्राइयो फूलपाती

काठमाडौं । आइतबार देशभरका दशैं घरमा फूलपाती भित्राइएको छ । काठमाडौंको हनुमान ढोकासहित देशभरका शक्तिपिठमा आज फूलपाति भित्राइएको हो । हनुमानढोकामा गोरखा दरबारबाट पठाइएको फूलपाती साइतअनुसार गोरखा र हनुमानढोका दरबारका पुजारीले साँझ दशैं घरमा भित्र्याएका हुन् ।

गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको छ । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समेत गरेको छ । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायतको उपस्थितिमा नेपाली सेनाले राइफल र तोपको साथै मार्चपास गरेको थियो । सेना तथा प्रहरीले देशभरका शक्तिपिठमा फूलपाती भित्राउने क्रममा सलामी दिएका थिए ।