१९६४ मा पेरु र अर्जेन्टिनाबीचको फुटबल हिंसा सम्झाउने घटना इण्डोनेसियामा, १७४ मारिए

जाकार्ता । हुलदङ्गामा उत्रिएका फुटबल समर्थकमाथि प्रहरीले अश्रुग्याँस हानेपछि इन्डोनेसियाको एक फुटबल खेल मैदानमा भएको भागदौडमा कम्तीमा १७४ जनाको मृुत्यु भएको छ । बीबीसीका अनुसार अरेमा एफसी आफ्नो प्रतिद्वन्द्वी पर्सिबाया सुरेबायासँग पूर्वी जाभामा पराजित भएको एउटा खेलपछि भएको भागदौडमा करिब १८० जना घाइते भएका छन्। यो घटनाले सन् १९६४ मा लिमामा पेरु र अर्जेन्टिनाबीच भएको ओलिम्पिक छनौट खेलमा भएको हिंसा सम्झाएको छ ।

उक्त हिंसामा ३२० जनाको ज्यान गएको थियो भने एक हजार भन्दा बढी घाइते भएका थिए। सन् १९८५ मा लिभरपुल र युभेन्ट्सबीच युरोपियन कप फाइनल चलिरहँदा एउटा पर्खाल भत्किँदा त्यसले थिचिएर बस्रल्सस्थित एउटा रङ्गशालामा ३९ जनाको निधन भएको थियो। त्यसबेला ६०० जना घाइते भएका थिए। सन् १९८९ मा यूकेमा एफए कपको सेमिफाइनलको समयमा सेफिल्डस्थित एउटा रङ्गशालामा भागदौडको परिस्थिति निम्तिँदा ९७ जना लिभरपुल समर्थकहरूले ज्यान गुमाएका थिए।


शनिबार खेल सकिएको सिट्ठी बजेपछि फुटबल समर्थकहरू मैदानमा प्रवेश गरिरहेका भिडिओ फुटेज इन्टरनेटमा सार्वजनिक भएका छन्। प्रहरीले त्यसपछि अश्रुग्याँस प्रहार गरेको थियो। जसले गर्दा भागदौड मच्चियो र मानिसहरू निसासिन पुगेको पूर्वी जाभाका प्रहरी प्रमुख निको अफिन्टाले बताएका छन् । ज्यान गुमाउने मध्ये दुई जना प्रहरी अधिकारी रहेको उनले जानकारी दिए। मृतकमध्ये ३४ जनाको रङ्गशाला भित्रै निधन भएको थियो। ‘उनीहरू एउटै बाहिरिने विन्दुमा गए, त्यहाँ ठूलो भिड भयो र अक्सिजनको अभावले गर्दा सास फेर्न गाह्रो हुने अवस्था आएको हो, अफिन्टाले बताए।

सामाजिक सञ्जालका भिडियोमा मृतकको शव भुइँमा रहेको देखिन्छ। इन्डोनेसियाका प्रमुख सुरक्षा मन्त्रीले ४० हजार मानिस अटाउने उक्त रङ्गशालामा क्षमताभन्दा बढी मानिसहरू रहेको बताएका छन्। प्रहरी प्रमुख अफिन्टाका अनुसार समर्थकहरू अराजक हुँदै प्रहरी अधिकारीहरूलाई आक्रमण गर्न र कारहरूमा क्षति पुर्‍याएका थिए।


इन्डोनेसियाको फुटबल सङ्घले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ। इन्डोनेसियाको प्रमुख लीग बीआरआई लीगा १ लाई एक हप्ताको लागि निलम्बन गरिएको छ। इन्डोनेशियाको फुटबल एसोसिएशनले शनिवार राति विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति दुख व्यक्त गरेको छ र सो विषयबारे अनुसन्धानका लागि एउटा टोली मलंग पठाएको उल्लेख गरेको छ। यो घटनापछि अरेमा एफसीमाथि यो सीजनभरलाई प्रतिबन्ध लगाइएको छ ।