काठमाडौं । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसनले शुक्रबार शपथ ग्रहण गरेका छन् । थम्पसनलाई अमेरिकी उपविदेशमन्त्री वेन्डी आर शर्मनले शपथ गराएकी छन् । उनी केही साताभित्र आफ्नो कार्यकाल सम्हाल्न नेपाल आइपुग्ने बताइएको छ । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किएसँगै उनको नियुक्ती भएको हो ।
अमेरिकाले उनलाई नामिबियाका लागि राजदूत नियुक्त गरेको छ । उनी आइतबार स्वदेश फर्किएका हुन् । ‘मेरो जीवनकथामा एउटा अध्याय नेपाली र अमेरिकीहरूको सम्बन्धको इतिहासको बारेमा पनि समाबेस हुने सौभाग्य प्राप्त गरेकोमा अत्यन्तै कृतज्ञ छु,’ बेरीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मैले यहाँहरूबाट व्यक्तिगत रूपमै अनुभव गर्न पाएको अनेकौं माया, सदभाव र सत्कारका क्षणहरूका लागि सदैव आभारी रहनेछु ।’
उनले नेपालको भविष्यका विषयमा अत्यन्तै आशावादी रहेको भन्दै आफूले यहाँका नागरिक, भूभाग, विश्वास र संस्कृतिलाई अत्यन्तै राम्ररी बुझ्ने अवसर प्राप्त गरेको समेत उल्लेख गरेका छन् ।