काठमाडौं । उत्तरी गोरखाको मनास्लु हिमालमा गएको हिउँ पहिरोमा परी अहिलेसम्म तीन जनाको मृत्यु भएको छ । अघिल्लो साता दुई जनाको मृत्यु भएको थियो । आइतबार पुनः आधार शिविरमै हिउँ पहिरो आएको थियो । सो क्रममा एकजनाको मृत्यु भएको हो । आइतबार साढे ४ बजेतिर हिमपहिरामा परी ताप्लेजुङका ३५ वर्षीय दावाछिरिङ शेर्पाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, गोरखा अनुसार हिमपहिरामा परेका चारमध्ये तीनजना तत्काल नै सम्पर्कमा आएका थिए ।
पहिरामा परेका शेर्पा भने वेपत्ता भएका थिए । उनको शव सोमबार दिउँसो भेटिएको छ । उनको शव सिम्रिक एयरको हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पठाइएको छ । गत सोमबार हिमपहिरामा परी सङ्खुवासभाका अनुप राई र विश्व विख्यात अमेरिकी स्की आरोही हिलारी नेल्सनको स्की गर्ने क्रममा मृत्यु भएको थियो ।