काठमाडौं । बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । उनलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । कतार एयरवेजको विमानबाट बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका सन्दीपलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो । पक्राउ गरेर गौशाला लगिएका सन्दीपलाई तत्काल स्वास्थ्य परीक्षणका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज समेत लगिएको थियो । सिनामंगलबाट सन्दीपलाई पुनः प्रहरी वृत्त गौशाला लगिएको छ ।
प्रहरीका अनुसार सन्दीपलाई आइतबार अदालत उपस्थित गराइने भएको छ । शुक्रबारसम्म दशैंको बिदा र शनिबार सार्वजनिक बिदा परेका कारण अदालत बन्द हुने भएकोले आइतबार अदालत खुलेपछि म्याद थपका लागि सन्दीपलाई उपस्थित गराइने बताइएको छ ।
राष्ट्रिय टोलीको कप्तानका रूपमा भदौ ६ गते केन्यामा क्रिकेट सिरिज खेल्न गएका उनलाई विदेशमै रहेका बेला नेपालमा जाहेरी परेको थियो । केन्या जानु अघिल्लो दिन अर्थात् भदौ ५ गते सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै एक १७ वर्षीया नाबालिगले प्रहरीमा किटानी जाहेरी दिएकी छन् ।
सोही उजुरीका आधारमा भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सन्दीपले आफूविरुद्ध लागेको आरोप निराधार भएको भन्दै कानुनी लडाईमा सफल हुने विश्वास व्यक्त गरेका छन् ।