मलेसियामा संसद विघटन, मध्यावधी निर्वाचन घोषणा

क्लावालाम्पुर । मलेसियामा संसद विघटन गरी मध्यावधी निर्वाचन घोषणा गरिएको छ । मलेसियाका प्रधानमन्त्री इस्माइल साब्री याकोबले संसद् विघटनको घोषणा गरेको स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् । सोमबार संसद् विघटन गर्दै उनले ६० दिनभित्र मध्यावधि निर्वाचन हुने घोषणा गरेका हुन् । देशका नाममा टेलिभिजन सम्बोधन गर्दै उनले संसद् विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिइसकेको पनि जनाएका छन् ।

सन् २०१८ को निर्वाचनपछि देशमा विभिन्न घटनाक्रम विकसित भएका र त्यसले आर्थिक तथा राजनीतिक अवस्थालाई असर गरेकाले तत्काल निर्वाचन गर्नुपरेको उनको भनाइ छ । ‘हामीले फेरि जनताको अभिमत लिने निर्णय गरेका छौं । जनताको अभिमत नै सबैभन्दा शक्तिशाली हुन्छ,’ सम्बोधनका क्रममा याकोबले भनेका छन् । देशमा राजनीतिक स्थायित्व आवश्यक रहेको बताउँदै उनले सरकारको सिफारिसमा निर्वाचन आयोगले केही दिनमा निर्वाचनको मिति घोषणा गर्ने जनाएका छन्  ।