नेपाल र पाकिस्तान मैत्रिपूर्ण फुटबलमा भिड्दै

काठमाडौं । नेपाल र पाकिस्तान मैत्रिपूर्ण फुटबल खेल्ने भएका छन् । पाकिस्तानको फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आगामी महिना नेपाल आउन लागेको हो । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले पकिस्तानी टोलीमाथि गरेको निलम्बन फुकुवा गरेसँगै उक्त टोली मध्य नोभेम्बरमा नेपाल आउने भएको हो । यसका लागि उक्त टोलीले पाकिस्तानको लाहोरमा ६ हप्ताको तालिम गरेको छ ।

पाकिस्तान फुटबल महासंघले बिहीबार यसबारे जानकारी दिएको हो । ‘पाकिस्तानी टोली मध्य नोभेम्बरमा नेपालसँग प्रतिस्पर्धाका लागि जाने तयारी गरेको कुरा घोषणा गर्न पाउँदा हामी खुसी छौं,’ पाकिस्तान फुटबल महासंघले भनेको छ । खेलका लागि टोली घोषणा भने गरिएको छैन । फिफाले पाकिस्तानी टोलीलाई २०२१ को अप्रिलमा निलम्बन गरेको थियो ।