पोखरा । नर्वौं राष्ट्रिय खेलकुद पोखरामा औपचारिक रुपमा शुरु भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन भएको हो । शुक्रबार विशेष समारोहका बीच नवौं राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे । ‘एकतावद्ध देश, खेलकुदको सन्देश’ भन्ने नारासहित राष्ट्रिय खेल अभियान प्रारम्भ भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने तालिका भएपनि अस्वस्थताका कारण उपराष्ट्रपति उपस्थित भएका हुन् ।
भव्य रुपमा भएको प्रतियोगितामा गण्डकी प्रदेशका ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक दीप प्रज्वलन गरे । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले झण्डात्तोलन गरे । उद्घाटन समारोहमा सहभागिता जनाउने ११ टिमले मार्चपास गरेका थिए । त्यसबाहेक झाँकी, नृत्य, गायन लगायत आतिसबाजी गरिएको थियो । कोभिड महामारी लगायत विविध कारणले ४ वर्षपछि धकेलिएको प्रतियोगिता गण्डकीमा ३९ वर्षपछि आयोजना भएको हो ।
यसअघि गण्डकीमा २०४० सालमा राष्ट्रिय खेलकुद आयोजना भएको थियो । नवौंको अधिकांश खेलहरु पोखरा रंगशालामा हुनेछन् । ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । यस पटक विभागीय टोली नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मीसहित सात प्रदेशका सात टिम र एनआरएनए गरी ११ टिमका खेलाडीले सहभागिता जनाउँदै छन्