आठौं संस्करणको टी–२० विश्वकप आजबाट

काठमाडौं । आठौं संस्करणको टी–२० विश्वकप आजबाट सुरू हुँदैछ। अष्ट्रेलियामा चल्ने प्रतियोगितामा १६ टोली सहभागी छन् । प्रतियोगिता दुई चरणमा चल्नेछ । पहिलो चरणमा समूह ए का दुई खेल हुनेछन्। पहिलो खेलमा श्रीलंका र नामिबियाबीच खेल हुनेछ। खेल नेपाली समय अनुसार बिहान ९ः४५ बजे सुरू हुनेछ। दोस्रो खेल नेदरल्याण्ड र युएईबीच दिउँसो १ः४५ बजे हुनेछ ।

पहिलो चरणको समूह एमा नामिबिया, श्रीलंका, नेदरल्यान्ड्स र युएई छन्। यस्तै समूह बी मा आयरल्यान्ड, जिम्बावे, वेस्टइन्डिज र स्कटल्यान्ड छन् । पहिलो चरणका दुबै समूहका शीर्ष दुई टोली सुपर १२ मा पुग्नेछन्। पहिलो चरणको खेलपछि मात्रै सुपर १२ को खेलहरू हुनेछन्।

सुपर १२ को समूह १ मा इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता हुनेछन्। सुपर १२ को समूह २ – भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता हुनेछन् । सुपर १२ मा दुबै समूहका शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन्।