भोकमरीविरुद्ध नेपालको उल्लेखनीय सुधार

काठमाडौं । विश्वव्यापी भोकमरी सूचीमा नेपालले आफुलाई उल्लेख्य सुधार गरेको पाइएको छ । ‘ग्लोबल हंगर इन्डेक्स’ (जीएचआई)को आंकडा अनुसार विश्वव्यापी भोकमरी सूचकांकमा नेपाल कुल १९.१ अंकसहित ८१ औं स्थानमा छ । सन् २०१४ मा नेपालको अंक २१.२ थियो । २०२२ को सूचीमा दक्षिण एसियाली देशमध्ये श्रीलंका मात्रै नेपालभन्दा अगाडि छ । नेपालका छिमेकी मुलुकहरुमा भोकमरी भयावह देखिएको छ । भारतमा यो अवस्था अझ डरलाग्दो पाइएको छ । १२२ देश समावेश सूचीमा भारत १०७ औं स्थानमा छ ।

भारतको अवस्था छिमेकी श्रीलंका, बंगलादेश, नेपाल र पाकिस्तानभन्दा खस्किएको छ । सूचीअनुसार दक्षिण एसियामा अफगानिस्तान मात्र भारतभन्दा पछाडि १०९ औं स्थानमा छ । दक्षिण एसियाली देशहरूमा श्रीलंका ६४ औं, बंगलादेश ८४ औं र पाकिस्तान ९९ औं स्थानमा छन् ।


बुरुन्डी, सोमालिया, दक्षिणी सुडान र सिरिया कुल ४९.९ अंकसहित सूचीको पुछार (१२२ औं स्थान) मा छन् । चीन, टर्की, कुवेत, बेलारुस, उरुग्वे, चिलीलगायत १७ वटा देशको अंक ५ भन्दा कम छ । सन् २०२१ मा ११६ देशको सूचीमा भारत ९४ औं स्थानमा थियो । उच्च भोकमरी रहेको भारतका बच्चाहरूमा ‘कुपोषणको अवस्था पनि गम्भीर’ रहेको छ । विश्वभर ८२ करोड ८० लाख मानिस कुपोषणको सिकार भएकामा त्यसमध्ये २२ करोड ४० लाख भारतीय रहेको प्रतिवेदनमा उल्लेख छ ।