बोस्टनमा हुने बृहत सुशोभन समारोह तयारीमा तिब्रता

सुपेन्द्र बस्नेत, बोष्टन

नेपाल स्थित समता शिक्षा निकेतनको ‘समता शिक्षा अभियान’का लागि सहयोग जुटाउन, बोस्टनमा आयोजना गर्न लागिएको ‘बृहत सुशोभन समारोह एवं साँस्कृति कार्यक्रम’को तयारीमा तिब्रता दिइएको छ।

नेपालमा गुणस्तरीय समता शिक्षालाई सर्वसुलभ बनाइ राष्ट्रनिर्माणमा टेवा पुर्‍याउने प्रमुख उद्देश्यका साथ अमेरिकामा स्थापित नाफारहित संस्था ‘समता ग्लोबल सिनेट’को आयोजना तथा बोस्टनस्थित ग्रेटर बोस्टन नेपाली कम्युनिटी र पशुपतिनाथ बुद्ध फाउन्डेशनको आतिथ्यतामा हुन गइरहेको समारोहलाई सफल पार्न आवश्यक तयारीमा तिब्रता दिइएको हो। उक्त समारोह आउँदो नोभेम्बर १३ तारिख आइतबारका दिन मासाचुसेट्स राज्यको आर्लिङ्गटन सहरको 7 Medford street स्थित Regent Theatre मा आयोजना गरिदै छ।

”सिनेटर बन्नुहोस्, राष्ट्र निर्माणमा योगदान गर्नुहोस् (Be a senator, contribute to nation building)” भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको उक्त सुशोभन समारोहमा,
अमेरिकामा रही समभावले समता शिक्षा अभियानमा जोडिएका समता सिनेटरहरुलाई सम्मान गरिदै छ।
सिनेटरहरुलाई
समता शिक्षा निकेतनका संस्थापक तथा समता शिक्षाका प्रमुख अभियान्ता उत्तम संजेल र संरक्षक तथा वरिष्ठ कलाकार ‘मह’ जोडी(मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)ले समता शिक्षा उपाधिसहित सम्मान गर्नु हुने जनाइएको छ।

बोस्टनमा हुने समारोहलाई सफल पार्ने तयारी अन्तर्गत समता ग्लोबल सिनेटका ‘समता सिनेटर’ बोस्टनवासी ठाकुर ज्ञवालीको संयोजकत्वमा मासाचुसेट्स राज्यमा अवस्थित विभिन्न संघ संस्था तथा प्रबुध्द व्यक्तित्वहरुलाई समेटेर ‘मूल समारोह आयोजक समिति’ गठन गरिएको छ। मूल समारोह आयोजक समिति गठन गरेसंगै समितिले आफ्नो काम सुरु गरिसकेको छ। समितिका संयोजक ज्ञवालीले जानकारी दिनुभएअनुसार समारोहको प्रचारप्रसार, सम्भावित सहयोगीहरु र सिनेटर बन्न इच्छुक व्यक्तित्वहरुको खोजी कार्य सुरु गरिसकिएको छ। संयोजक ज्ञवालीले भन्नु भयो, ‘
हामीले समारोहको तयारीलाई तिब्रता दिइसकेका छौं। समारोहको मिति नजिकिसकेकाले तयारीलाई तिब्रता दिनु परेको हो।”

शिक्षाप्रेमी, समाजसेवी तथा नेपालप्रेमीहरुका लागि यस अभियानमा जोडिएर पुण्य कार्य गर्न घरदैलोमै सुवर्ण अवसर आएको जिकिर गर्दै ज्ञवालीले बोस्टनवासीहरुलाई यस अवसरमा सिनेटर बनेर समता शिक्षा अभियानमा हातेमालो गर्न अनुरोध समेत गर्नु भएको छ।

हाल ज्ञवालीसहित बोस्टनबाट कुमार सिंह डाँगी, राजु तामाङ, कैलाश डाँगी, एनड्रे, डाँगी, एडम डाँगी र समृद्धि डाँगी (४ वर्षिया सबै भन्दा कान्छी सिनेटर) समता सिनेटर रहनु भएको छ। गत वर्ष स्थापना गरिएको यस संस्थामा अन्य शिक्षाप्रेमी, नेपालप्रेमी तथा समाजसेवीहरु पनि समता सिनेटर बनेर समता शैक्षिक अभियानमा जोडिने क्रम जारी छ। यस वर्षको अन्तसम्ममा अमेरिका भरीबाट दुई सय जना सिनेटरहरु हुने अनुमान गरिएको छ।

संस्थाका अनुसार, इच्छुकहरुले समता सिनेटरको उपाधि पाउनका लागि एक हजार अमेरिकी डलर शुल्कसहित रितपूर्वक निवेदन दिनु पर्नेछ। र, संस्थाको समभावप्रतिको निवेदकको प्रतिबद्धता प्रमाणित हुनु पर्नेछ। समता सिनेटरको उपाधि दिने वा नदिने निर्णय भने संस्थाद्वारा गठित शिक्षाप्रेमीहरुको एक स्वतन्त्र समितिले गर्नेछ।

समितिका सहसंयोजक तथा समता सिनेटर कैलाश जंग डाँगीका अनुसार उक्त समारोहमा मनोरञ्जनात्मक विविध सांस्कृतिक कार्यक्रमलाई पनि समेटिएको छ। समता शिक्षा निकेतनका संरक्षक तथा वरिष्ठ कलाकार द्वय ‘मह’ जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) र लोकप्रिय गायक रामकृष्ण ढकाल कार्यक्रमको प्रमुख आकर्षक रहने भएका छन्। सहसंयोजक डाँगीले भन्नु भयो, ‘ वरिष्ठ कलाकार ‘मह’ जोडी र लोकप्रिय गायक रामकृष्ण ढकाल सुशोभन समारोह अन्तर्गत हुने साँगितिक कार्यक्रमको प्रमुख आकर्षक रहनु हुनेछ। उहाँहरुको बेजोड साँगितिक माहोलमा रम्न बोस्टवासी आतुर छन्।’

उहाँले दिनुभएको जानकारी अनुसार कार्यक्रममा सहभागिता जनाउनका लागि सहयोग शुल्क तिरी कागजी वा अनलाइनबाटै पनि टिकट किन्न सकिने व्यवस्था मिलाइदैछ। सहयोग शुल्क स्वरुप प्रति टिकट १ सय र ५० डलर दर रहने छ। आयोजकले कार्यक्रम स्थलको क्षमतालाई मध्यनजर गर्दै कूल पाँचसय टिकट बिक्री गर्ने लक्ष्य राखेको छ।

यसैगरी, यस्तै ‘बृहत सुशोभन समारोह’ मासाचुसेट्स राज्यको बोस्टनसहित अमेरिकाको ९ राज्यहरुमा हुन गइरहेको आयोजकले जनाएको छ। जसअनुसार नोभेम्बर-५ तारिखमा अमेरिकाको न्युयोर्क, नोभेम्बर-६मा सिकागो, नोभेम्बर-११मा कोलम्बस, नोभेम्बर-१२मा पिट्स्बर्ग, नोभेम्बर-१८मा लुइस्, नोभेम्बर-१९ मा सान फ्रान्सिस्को र नोभेम्बर-२०मा डालासमा सम्पन्न गर्ने गरी तयारी थालिएको छ।