काठमाडौं । रुसी सेनाले युक्रेनको उर्जा सेवालाई फेरि निसानामा पार्दा राजधानी किएभका केही क्षेत्रसहित अन्य सहरमा बिजुली र पानी आपूर्ति बन्द भएको छ। बीबीसीका अनुसार राजधानीमा भएको आक्रमणमा दुई जनाको ज्यान गएको छ । डिनिप्रो नदी नजिकैको ऊर्जा केन्द्र वरपरबाट धुवाँको मुस्लो निस्किएको देखिएको छ। किएभको पश्चिममा रहेको जितोमीरमा बिजुली र पानीको आपूर्ति काटिएको छ र डिनिप्रोमा दुईवटा केन्द्रहरू नराम्ररी क्षतिग्रस्त भएका छन्।
ूपहिलो कुरा बिजुली बचत गर्न र दोस्रो यदि आक्रमण जारी रह्यो भने अन्धकारमा बस्न पनि सबैजना तयार हुनुपर्छ,ू युक्रेनी राष्ट्रपति कार्यालयका उपप्रमुखले भनका छन्, ‘सम्पूर्ण जनसङ्ख्या कडा जाडोको लागि तयार हुन आवश्यक छ।’ किएभलाई कामिकाजी ड्रोनले प्रहार गरेको २४ घण्टापछि पछिल्लो आक्रमण भएको हो।
इरानमा निर्मित ठानिएको उक्त मानवरहित ड्रोन आक्रमणबाट राजधानी किएभमा कम्तीमा पाँच जना र उत्तरी सहर सुमीमा चार जनाको ज्यान गएको तथा सयौँ सहर र गाउँहरूमा विद्युत् आपूर्ति बन्द भएको विवरणहरू आएका छन्। ती हमलाहरूले कैयौँ महत्वपूर्ण पूर्वाधारहरूमा प्रहार भएको बताइएको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलवार ट्विटरमा लेखेका छन्,‘ गएको आठ दिनमा युक्रेनका ३० प्रतिशत ऊर्जा केन्द्रहरू ध्वस्त भएका छन् त्यसले गर्दा देशभरि व्यापक अन्धकार भएको छ।’
रुसले हालैका साताहरूमा युद्धको अग्रमोर्चाभन्दा टाढाका सहरहरूमा विद्युत् तथा अन्य पूर्वाधारहरूमा आक्रमण बढाएको छ। अधिकारीहरूले क्षतिग्रस्त संरचनाहरूको मर्मत गरिरहेका छन् तर आउँदो जाडोअघि प्रणालीले कसरी काम गर्छ भन्ने चिन्ता बढेको छ। आक्रमणहरूमा ड्रोनहरू कुन हदसम्म संलग्न थिए भन्ने प्रारम्भमा स्पष्ट भएको थिएन।
यद्यपि युक्रेनले रुसले क्षेप्यास्त्रहरू प्रहार गरेको र कतिपयको ज्यान गएको जनाएको थियो। केही सहरहरूमा युक्रेनीहरूले ऊर्जा उत्पादनका लागि जेनरेटरहरू र ग्यास बर्नरहरू खरिद गरिरहेका छन्। देशैभरिका मानिसहरूलाई मुख्य विद्युत् खपत हुने समयमा त्यसको खपत कम गर्न भनिएको छ। केही सहरहरूले पहिले नै विद्युत आपूर्ति अभावको समस्या बेहोरिरहेका छन्।