काठमाडौं । चीनका भूतपूर्व राष्ट्रपति हु जिन्ताओलाई बेइजिङमा जारी चिनियाँ कम्युनिस्ट पार्टीको कङ्ग्रेसबाट बाहिर निकालिएको दृष्य सार्वजनिक भएको छ ।
राष्ट्रपति सी जिन्पिङसँगै बसिरहेका ७९ वर्षीय नेता निकै कमजोर देखिएका थिए। अधिकारीहरूले उनी बसेको ठाउँमा पुगेर हुलाई बाहिर निकालेको भए पनि त्यसको कारणबारे खुलाइएको छैन। प्रत्येक पाँच वर्षमा राजधानी बेइजिङमा हुने अधिवेशनले सीलाई माओ त्सेतुङपछिका सबैभन्दा शक्तिशाली नेताको रूपमा स्थापित गरेको बीबीसीले लेखेको छ ।
सन् २००३ देखि २०१३ बीचमा चीनको राष्ट्रपति रहेका हु जिन्ताओलाई अधिकारीहरूले मञ्चबाट बाहिर लैजाँदै गर्दा उनले राष्ट्रपति सीलाई केही भनेका थिए। प्रतिक्रियामा राष्ट्रपति सीले टाउको हल्लाएर सहमति जनाएको देखिन्छ। त्यसपछि हुलाई अधिकारीहरूले कुम समातेर डोहोर्याउँदै ग्रेट हल अफ द पीपलबाट बाहिर लगेका थिए ।
उनी बाहिरिनुको कारणबारे विशेषतः दुई किसिमका अनुमान गरिएको छ। चीनमा जारी शक्ति सङ्घर्षको विषय सतहमै आएको हुनसक्ने वा उनलाई कुनै गम्भीर स्वास्थ्य समस्या भएको हुनसक्ने ठानिएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको अधिवेशनले शनिवार २०५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो।