भारतमा डेढ शताब्दी पुरानो पुल भाचिदा कम्तीमा १४१ मारिए

Credit: Rajesh Ambaliya/Associated Press

काठमाडौं । भारतको पश्चिमी राज्य गुजरातमा एउटा झोलुङ्गे पुल खस्दा कम्तीमा १४१ जना मानिसहरूको मृत्यु भएको छ। मोरबी सहरमा भएको उक्त घटनामा सयौँ मानिसहरू मच्छू नदीमा खसेका थिए। भिडिओ फुटेजहरूमा बच्न सफल भएकाहरू आंशिक रूपमा डुबेको पुलमा झुन्डिएका देखिन्थे। विवरणहरूका अनुसार घटना हुँदा लगभग ४०० मानिसहरू उक्त पुलमा थिए। बीबीसीका अनुसार अहिलेसम्म १७७ जनाभन्दा धेरै मानिसहरूको उद्धार गरिएको छ।

मर्मत सम्भारपछि पुल पुनः प्रयोगमा ल्याइएको केही दिनमा उक्त घटना घटेको हो। २३० मिटर लामो ‍औपनिवेशिक समयको उक्त पुल १९औँ शताब्दीमा भारतमा ब्रिटिशहरूले शासन गर्दा बनाइएको थियो। स्थानीय रूपमा जुल्टो पुलका रूपमा चिनिने उक्त पूर्वाधार त्यस क्षेत्रको एउटा प्रख्यात पर्यटकीय केन्द्रबिन्दु समेत हो। आइतबार साँझ ६ः४० तिर उक्त दुर्घटना भएको थियो।

पुल खस्दा त्यहाँ धेरै बालबालिका थिए। आसपासका जिल्लाहरूबाट पठाइएका आपत्कालिन उद्धारकर्ताहरूले रातभर काम गरेका थिए । पुल खस्ने अवस्था के कारण सिर्जना भयो भन्ने अझै प्रस्ट हुन सकेको छैन। तर स्थानीय अधिकारीहरूले दीपावलीको छुट्टीले गर्दा त्यहाँ निकै धेरै मानिसहरू जम्मा भएको बताएका छन्।