काठमाडौं । प्रेस स्वतन्त्रताको हक विपरित हुने गरी निर्वाचन आयोगले सेतोपाटी अनलाइनमा प्रकाशित समाचार हटाउन निर्देदन दिएसँगै निर्वाचन आयोग विवादमा तानिएको छ । झापा क्षेत्र नम्बर १ का उम्मेदवार अग्नि खरेलका परिवारको सदस्यका बारेमा प्रकाशित समाचार २४ घण्टाभित्र हटाउन सेतोपाटी डटकमलाई आयोगले शनिबार निर्देशन दिएको हो ।
आयोगले समाचारका विषयमा स्पष्टीकरण समेत सोधेको छ । सेतोपाटी डटकमले शुक्रबार खरेलका छोरा अमेरिकी सेनामा भर्ती भएको र उनको नेपाली नागरिकता र मतदाता नामावलीमा नाम कायमै रहेकोसम्बन्धी समाचार प्रकाशित गरेको थियो । आयोगले त्यो समाचार २४ घण्टाभित्र हटाएर तीनवटा प्रश्नको जवाफ दिन भनेको छ ।
समाचारले उम्मेदवार र निजको एकाघरका परिवारका सदस्यको मान, प्रतिष्ठा, इज्जतमा आँच पुर्याउने देखिएकाले त्यसरी समाचार प्रकाशित गर्नु आचारसंहिता विपरीत हो, होइन ? भन्ने प्रश्न गरिएको छ । यस्तो गलत र भ्रामक समाचार प्रकाशन र प्रशारण गर्न मिल्छ कि मिल्दैन ?
निर्वाचन आचारसंहिताविरुद्धको सामग्री प्रकाशित गरेकोमा सेतोपाटी डटकमलाई कारवाही किन नगर्नु पर्ने हो ? भन्दै आयोगले प्रश्न गरेको हो । आयोगले तथ्यसहित लेखिएको समाचारमा समेत हटाउन निर्देशन दिएसँगै बौद्धित जगतबाट तीव्र आलोचना भइरहेको छ ।