काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले दुई महिनामा करिब साढे ५ किलो सुन बरामद गरेको छ । पछिल्लो दुई महिनामा अवैध रुपमा भित्र्याइएको करिब साढे ५ करोड मूल्य बराबरको उक्त परिमाणको सुन बरामद भएको भन्सार कार्यालयले जनाएको छ ।
यात्रुले झिटीगुन्टा सुविधाको दुरुपयोग गदै र तस्करी प्रयोजनका लागि लुकाएर ल्याएको उक्त परिमाणको सुन बरामद भएको प्रमुख भन्सार प्रशासक अरुण पोखरेललाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । विभिन्न विमानमार्फत नेपाल आएकाहरुले यस अवधिमा कुल ५ हजार ५७५ ग्राम अवैध सुन बाकेर आएको बताइएको छ । सुन मंगलबार राष्ट्र बैंकलाई बुझाइएको छ ।
यस अवधिमा भन्सारले कडाइकासाथ यात्रु जाँचपास गर्दा फरक फरक विमान र गन्तव्यबाट आएका ३२ जनाबाट उक्त सुन बरामद भएको हो । सुन बरामद भएकाहरुलाई फरक फरक ३२ वटा मुद्दा दर्ता गरिएको र सोबाट जफत भएको सुन नेपाल राष्ट्र बैंकमा बुझाएर सुन बराबरको रकम ५ करोड ५० लाख रुपयाँ राजस्व खातामा जम्मा हुने भन्सार कार्यालयले जनाएको छ ।