काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले देशका विभिन्न स्थानमा भइरहेको बैंकविरुद्धको आन्दोलन रोक्न आह्वान गरेको छ । अहिले देशभरका जिल्लारनगर उद्योग वाणिज्य संघ तथा वस्तुगत संघहरुले विभिन्न माग राख्दै बैंकविरुद्ध आन्दोलन गरिरहेका छन् । यी मागमा ऐक्यबद्धता जनाउँदै महासंघले निर्वाचनसम्म सबै आन्दोलनका कार्यक्रम रोक्न आह्वान गरेको हो ।
तरलता अभावका कारण निरन्तर बढिरहेको कर्जाको ब्याजदर स्थायित्व र चालु पूँजी कर्जा मार्गदर्शन स्थगित गर्न नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंक समक्ष माग गरेको छ । बजारको न्यून मागका कारण व्यापार–व्यवसाय प्रभावित भइरहेका बेला बढेको ब्याजदर र यही कात्तिकदेखि केन्द्रीय बैंकले लागु गरेको मार्गदर्शनका कारण निजी क्षेत्र मर्माहत भएको समेत महासंघको भनाइ छ ।
तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व र चालु पूँजी कर्जा मार्गदर्शन स्थगनका लागि महासंघका सदस्य जिल्लारनगर उद्योग वाणिज्य संघहरु एवं वस्तुगत संघहरूले राखेका मागप्रति महासंघ ऐक्यबद्धता पनि जाहेर गरेको समेत महासंघले जनाएको छ । तर आगामी ४ मंसिरमा प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन हुन गइरहेको र लोकतान्त्रिक व्यवस्था एवम् खुला बजार अर्थतन्त्रका लागि निर्वाचन महत्वपूर्ण रहेको महासंघले उल्लेख गरेको छ ।
सोहीकारण हाल सञ्चालित विरोधका कार्यक्रम स्थगित गर्न महासंघ सम्पूर्ण प्रदेश च्याप्टर र सदस्य संस्थाहरूलाई आग्रह गरेको छ । साथै निर्वाचन सफल पार्न आ(आफ्नो क्षेत्रबाट सहयोग पुर्याउन पनि महासंघले आग्रह गरेको छ ।
‘निर्वाचनसम्मको अवधिमा महासंघ नेतृत्व निरन्तर सरकार एवं नेपाल राष्ट्र बैंकसँग सम्वादमा रहने छ’, महासंघले भनेको छ, ‘वार्ता एवं सम्वादका माध्यमबाट निजी क्षेत्रमा परेको समस्या समाधान हुनेमा महासंघ विश्वस्त छ ।’ निर्वाचन पछि पनि सरोकारवाला निकायबाट निजी क्षेत्रका माग सम्बोधन नभएमा महासंघले आर्थिक स्थायित्व एवं निजी क्षेत्रको हक हितका लागि थप कार्यक्रम घोषणा गर्ने बताइएको छ ।