काठमाडौं । नेपालमा रहेको अमेरिकी दूतावासले अमेरिकी राजदूतसँग गफगाफ कार्यक्रम शुरु गरेको छ । सरकार र राजनीतिक दलले अमेरिकी दूतावासको आलोचना गरे पनि दूतावासले सोमबारदेखि कार्यक्रम शुरु गरेको हो । सरकार र राजनीतिक दलले असहमति जनाए पनि अमेरिकी राजदूत ¥याण्डी बेरीले सोमबार शैक्षिक मुद्दामा केन्द्रित भएर कार्यक्रम गरेका छन् । प्रत्यक्ष रुपमा राजदूतसँग कुराकानी नभएर प्रश्न रेकर्ड गरेर त्यसको उत्तर सार्वजनिक गरिएको कार्यक्रममा देख्न सकिन्छ । सोमबारको अंकमा नेपाली विद्यार्थी प्राचीले अमेरिकामा पढ्न जान चाहना भएको विषयमा प्रश्न गरेकी छन् । उनको प्रश्नको राजदूतले जवाफ दिएका छन् ।
अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियोमा प्राचीले अमेरिका पढ्न जाने सोच बनाएका विद्यार्थीलाई के सल्लाह दिनुहुन्छ भनेर प्रश्न गरेकी छन् । अमेरिकी राजदूत बेरीले जवाफ दिँदै आफ्नो दूतावासका शिक्षासम्बन्धी सल्लाहकारलाई भेट्नका लागि आग्रह गरेका छन् । पहिलो अंकमा एउटा मात्र प्रश्नको उत्तर दिइएको छ । गफगाफको भिडियो सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा समेत अपलोड गरिएको छ । अमेरिकी दूतावासले यस प्रकारको कार्यक्रम गरेको यो पहिलो पटक हो ।
अमेरिकी दूतावासले सार्वजनिक गफगाफमा लेखिएको छ– ‘अमेरिकामा ४ हजारभन्दा बढी कलेज र विश्वविद्यालयहरू छन् जहाँ अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूको संख्या हरेक वर्ष वृद्धि भैरहेको छ । यो अवस्थामा हामीलाई अचम्म लाग्दैन कि सबैभन्दा बढी सोधिने प्रश्न विद्यार्थी भिसा र अमेरिका अध्ययनको विषयमा हुन्छ । प्राचीले राजदूत बेरीलाई सोध्नुभएको सोही प्रश्नको उहाँले यसरी जवाफ दिनुभयो । के राजदूत बेरीले तपाईंलाई अमेरिका अध्ययनका लागि उत्प्रेरित गर्नुभयो ? यदि हो र तपाईंलाई हाम्रा अमेरिकी शिक्षासम्बन्धी सल्लाहकारहरूसँग भेट्नु छ भने ज्ञानेश्वरस्थित USEF-Nepal EducationUSA Advising Center मा जानुहोस्, या https://www.facebook.com/usef.nepal/ मा गई उहाँहरूले प्रदान गर्ने सेवाका विषयमा थप जानकारी प्राप्त गर्नुहोस् ।
राजनीतिक कार्यक्रम भन्दै आलोचना
अमेरिकी दूतावासले अमेरिकी राजदूतसँग गफगाफ कार्यक्रम शुरु गर्ने बताएपछि यसका बारेमा परराष्ट्र मन्त्रालयले असन्तुष्टि जनाइसकेको छ । त्यति मात्र होइन राजनीतिक दलले समेत अमेरिकी राजदूतको यो कदमको विरोध गरेका थिए । राजनीतिक विषयवस्तु आएको अवस्थामा के हुने भन्नेबारेमा अहिलेसम्म दूतावासले प्रष्ट पारेको छैन । त्यसैले प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता माधवकुमार नेपाल, नेपाली काँग्रेस र अन्य दलले समेत विरोध जनाएका थिए ।
सोमबारको पहिलो कार्यक्रमलाई हेर्दा राजदूतले सिधै अन्तरक्रिया गर्ने देखिँदैन । प्रश्न लिएर आउने र राजदूतले जवाफ दिएको देखिन्छ । अमेरिकी दूतावासले कार्यक्रम शुरु गर्ने घोषणा गरेपछि चौतर्फी यसको आलोचना भएको थियो । कूटनीतिक क्षेत्रका विज्ञले समेत अमेरिकी दूतावासको यस्तो कार्यक्रमप्रति प्रश्न उठाएका थिए । कूटनीतिक मर्यादाविपरीतको क्रियाकलाप भएको भन्दै संघीय सदनमा समेत यसको आलोचना भयो । तर, कार्यक्रम सार्वजनिक भएपछि भने कसैले पनि प्रश्न उठाएका छैनन् । सबै राजनीतिक दलले विरोध गरे पनि कार्यक्रम शुरु भएपछि कुनै पनि प्रतिक्रिया दिएका छैनन् । अमेरिकी दूतावासले पनि विवाद नहोस् भन्ने तरिकाले कार्यक्रम चलाएको देखिन्छ ।