नेपालले जित्यो महिला साफ यु-१५ को उपाधी

काठमाडौं । नेपाल साफ यू–१५ महिला च्याम्पियन बनेको छ । डवल राउन्ड रोविन लिगको अन्तिम खेलमा शुक्रबार घरेलु टोली बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै नेपालले पहिलो पटक उपाधि जितेको हो। नेपालका लागि सुशिला केसीले गोल गरिन्। बंगलादेशका लागि रुमा अख्तरले बराबरी गोल फर्काइन्। पहिलो हाफमै १–० ले अग्रता लिएको नेपालले दोस्रो हाफमा उक्त अग्रता जोगाउन भने सकेन। ढाकास्थित बीएसएसएसएमके स्टेडियममा खेलको १४ औं मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई सुरूआती अग्रता दिलाइन् ।

अन्तिम मिनेटमा नेपालले पेनाल्टी बचाएपछि उपाधि नेपालको पक्षमा गएको हो। त्यसअघि ५४ औं मिनेटमा बंगलादेशका लागि रुमा अख्तरले बराबरी गोल गरेकी थिइन्। प्रतियोगितामा अपराजित नेपालले चार खेलबाट ३ जित र एक बराबरीसहित १० अंक जोडेको छ। आयोजक बंगलादेश २ जित र १ बराबरीसहित सात अंकमा सीमित रहदै दोस्रो भयो। तीन टिम सम्मिलित प्रतियोगितामा भुटान अंकविहीन स्थितिमा पुछारमा रह्यो।