अमेरिकी सिनेटमा बाइडेनको पकड कायमै

काठमाडौं । नभाडामा भएको जितसँगै अमेरिकाको माथिल्लो सदन सिनेटमा डेमोक्र्याटिक दलले आफ्नो बहुमत कायम राख्ने भएको छ। तीव्र प्रतिस्पर्धामा उनीहरूकी उम्मेदवार क्याथरिन कोर्टेज मास्टोले डोनल्ड ट्रम्पले समर्थन गरेका रिपब्लिकन उम्मेदवार एडम ल्याक्सल्टलाई पराजित गरेको बीबीसीले लखेको छ ।
मास्टो ६ वर्ष अघि अमेरिकी सिनेटमा चुनिने पहिलो ल्याटिन महिला बनेकी थिइन्। डेमोक्र्याटहरूसँग अब ५० सिट रहेको छ भने रिपब्लिकनहरूसँग ४९ सिट छ।

जोर्जियामा डिसेम्बर महिनामा फेरी हुन लागेको चुनावले बाँकी एउटा सिट तय गर्नेछ। यदि सिनेटमा दुवै दलको बराबरीको अवस्था आएको खण्डमा उपराष्ट्रपति कमला ह्यारिसलाई मतदानको अधिकार हुनेछ। सर्वेक्षणहरूले कमजोर व्यक्तिगत समर्थन रहेको भनी देखाएका र ४० वर्ष यताकै ठूलो मूल्यवृद्धि नियन्त्रणका लागि सङ्घर्ष गरिरहेका राष्ट्रपति बाइडनका लागि यो महत्त्वपूर्ण उपलब्धि भएको समेत बीबीसीले लेखेको छ ।

नभेडाको नतिजापछि बाइडनले चुनावमा देखिएको मतदाताको उत्साहजनक उपस्थितिप्रति आफू ज्यादै सन्तुष्ट रहेको बताए। उनले अब रिपब्लिकनहरूले ‘आफू को हो’ भनेर निर्क्योल गर्नुपर्ने अवस्था आएको उल्लेख गरे।

डेमोक्र्याट दलका सिनेटका नेता चक सुमरले अमेरिकी नागरिकले चुनावी परिणामबाट मतदाताले रिपब्लिकन दलका ‘द्वन्द्व फैलाउने खालका अभिव्यक्ति’ अस्वीकार गरेको देखिएको बताए। नभेडामा मतगणना भइरहँदा पूर्व राष्ट्रपति ट्रम्पले डेमोक्र्याटले ‘सबै प्रकारको मत’ खोजेको आरोप लगाए तर त्यसलाई पुष्टि गर्ने कुनै प्रमाण भने दिएनन्।

उनले प्रमाण नदिईकन रिपब्लिकनहरूको प्रभाव रहेका एरिजोनाका कैयौँ ठाउँमा मतदानमा प्रयोग गरिएका मेशिनहरूले पनि काम नगरेको बताए। रिपब्लिकन पार्टी हाउस अफ रेप्रिजेन्टेटिभमा जीत हासिल गर्ने दिशामा उन्मुख छ। त्यसले कानुन निर्माण सम्बन्धी बाइडनका कतिपय महत्त्वाकाङ्क्षा नियन्त्रण गर्नसक्छ। तर सिनेटमा बहुमत हुने दलले राष्ट्रपतिले गरेका सिफारिसका आधारमा सर्वोच्च अदालत सहित सङ्घीय अदालतहरूमा नियुक्तिहरू गर्न सक्छ।

तल्लो सदनका सदस्यको कार्यकाल २ वर्षको हुन्छ भने सिनेट सदस्यहरूको कार्यकाल ६ वर्षको हुन्छ। हरेक दुई वर्षमा तिनको निर्वाचन हुन्छ। राष्ट्रपतीय निर्वाचन भएको दुई वर्षपछि हुने निर्वाचनलाई मिड टर्म इलेक्सन भन्ने गरिन्छ। मङ्गलवार हाउस अफ रेप्रिजेन्टेटिभ्सको सबै सदस्य अनि सिनेटको एक तिहाइ सदस्यको निम्ति निर्वाचन भएको थियो।

साथै कतिपय राज्यले तिनको गभर्नर तथा स्थानीय अधिकारी चयन गर्न पनि मङ्गलवार निर्वाचन गराएका थिए। यी दुई सदनहरूले राष्ट्रव्यापी कानुन निर्माण गर्छन्। सिनेटलाई राष्ट्रपतिले गरेका नियुक्ति अनुमोदन गर्ने अधिकार हुन्छ भने राष्ट्रपतिमाथि छानबिनसमेत उसले गर्न सक्छ। प्रत्येक राज्यबाट २ जना सिनेटर निर्वाचित हुन्छन्।