सेयर बजारमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । अघिल्ला ३ दिन लगातार दोहोरो अंकले घटेको नेप्से आज २१ अंकले कमब्याक गरेको हो ।

सूचकसँगै आज कारोबार रकममा पनि बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १७ करोडले बढेर झन्डै १ अर्ब पुगेको छ ।

सोमबार नेप्से २१.२६ अंकले बढेर १९०४.४३ विन्दुमा पुगेको छ । यसदिन २२६ कम्पनीको ९४ करोड ६० लाख रुपैयाँ बढीको २४ लाख ५२ हजार ८४ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । उत्पादनमूलक समूह सबैभन्दा धेरै ३.१३ प्रतिशतले बढेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ११ करोड रुपैयाँकोे सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन डिस्ट्रीलरी ९ करोड र ङादी ग्रुप पावरको पौने ८ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले बढेको बजारमा आज तारागाउँ रिजेन्सी होटलको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, सप्तकोशी विकास बैंक ८.३९, बुद्धभूमि नेपाल ७.२९, रिभर फल्स पावर ७.२५, लिबर्टी इनर्जी ६.६७, छ्याङ्दी हाइड्रो ६.४५, ग्रामीण विकास लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र हिमालयन डिस्ट्रीलरीको सेयर मूल्य ६ प्रतिशतले बढेको छ ।