दशरथ रंगशालामा आज नेपाल र पाकिस्तान भिड्दै

Photo : ANFA

काठमाडौं । नेपाल र पाकिस्तानबीच बुधबार मैत्रीपूर्ण फुटबल हुने भएको छ । खेल दशरथ रंगशालामा बेलुका पाँच बजेबाट सुरु हुनेछ । विश्व फुटबल महासंघ फिफाले तीन वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेलको रुपमा नेपालसँग खेल्दैछ । दशरथ रंगशालामा घरेलु टोलीले आज ५० औँ खेल खेल्नेछ । नेपालले सन् १९८४ बाट दशरथ रंगशालामा आधिकारिक अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको हो ।

सन् २०१८ को साफ च्याम्पियनसिपपछि यी दुई टोली पहिलो पटक खेल्दैछन् । त्यसबेला नेपाल २–१ गोलले पराजित भएको थियो । दुई देशबिच अहिलेसम्म १७ खेल भएकोमा पाकिस्तानले सात र नेपालले पाँच खेल जितेका छन् । पाँच खेल बराबरी भएका छन् । मैत्रीपूर्ण फुटबलका लागि सम्पूर्ण तयारी पुरा भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एन्फाले यो खेलका लागि सामान्य प्याराफिटतर्फ ५ सय, भीआईपीतर्फ १ हजार र ५ हजारको टिकट मूल्य तोकेको छ ।