विश्वकप अगाडीको मैत्रिपूर्ण फूटबलमा अर्जेण्टिनाको सानदार जित, ३६ औं खेलसम्म अपराजित

दोहा । कतार विश्वकपको मुखमै अर्जेन्टिनाले मैत्रिपूर्ण फूटबलमा सानदार जित निकालेको छ । बुधबार राती सम्पन्न खेलमा अर्जेण्टिनाले यूएईलाई ५–० गोलले हरायो । यससँगै अर्जेण्टिनाले आफ्नो बलियो दावेदारी समेत प्रस्तुत गर्न सफल भयो । अबुधाबीमा भएको खेलमा सहज जितसँगै अर्जेन्टिनाले अन्तर्राष्ट्रिय फुटबलमा अपराजित यात्रालाई ३६ खेलसम्म पुर्‍याउन समेत सफल भयो । अब लगातार ३७ खेलसम्म अपराजित रहेको इटलीको कीर्तिमान बराबरी गर्नबाट अर्जन्टिना एक खेल पर छ । सन् २०१९ को कोपा अमेरिका सेमिफाइनलमा ब्राजिलसँग पराजित भएयता अर्जेन्टिना हारेको छैन ।

कतारमा आइतबार सुरु हुने विश्वकपअघि अभ्यासको रुपमा खेलिएको खेलमा अर्जेन्टिनालाई जिताउन एन्जल डि मारिया र कप्तान लिओनल मेसीले उत्कृष्ट प्रदर्शन गरे । डि मारियाले दुई गोल गरे । मेसीसहित जुलियन अल्भारेज र जाक्विन कोरेअले समान एक गोल गरे । अर्जेन्टिनाले पहिलो हाफमै चार गोल गरेको थियो भने दोस्रो हाफमा एक गोल थपेको हो । कतार विश्वकपमा समूह सी मा रहेको अर्जेन्टिनाले नोभेम्बर २२ मा साउदी अरेबियासँग पहिलो खेल खेल्नेछ । यस समूहमा मेक्सिको र पोल्याण्ड पनि छन् ।