दोहोरो अंकले बढ्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ ।

साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) २५.५७ अंकले बढेर १९३६.८३ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२३ कम्पनीको १ अर्ब ७१ करोड ५४ लाख १९ हजार २८६ रुपैयाँ बराबरको ४३ लाख ८४ हजार ४ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । बुधवार ८५ करोड ९४ लाख ६८ हजार १५८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेको छ । आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

सिक्लेस हाइड्रोपावर कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३३८८.४० रुपैयाँ पुगेको छ । सयपत्री हाइड्रोपावर कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले बढेर ३४७ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार फरवार्ड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावर भएको छ । यसको आज १४ करोड ३९ लाख भन्दा बढीको कारोबार भएको छ ।