विश्वकप : फ्रान्स अन्तिम १६ मा-चम्किए एमबाप्पे

काठमाडौं । साविक विजेता फ्रान्स फिफा विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ। शनिबार राति सम्पन्न समूह ‘डी’ को खेलमा फ्रान्सले डेनमार्कलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको हो । लगातार दोस्रो जित निकाल्ने क्रममा फ्रान्सले २–१ गोलको जित निकाल्यो। दुवै गोल केलियन एमबाप्पेले गरे। उनले पहिले गोल ६१ मिनेटमा गरेका थिए।

तर ६८ मिनेटमा क्रिस्टिनसनले डेनमार्क लागि बराबरी गोल फर्काए। खेल सकिन चार मिनेट बाँकी छदा एमबाप्पेले टिम तथा व्यक्तिगत दोस्रो गोल गरे। उनले विश्वकपमा आफ्नो गोल संख्या ७ पुर्‍याएका छन् भने विश्वकपमा पछिल्ला तीन खेलमा लगातार गोल गरेका छन्। यता फ्रान्सले विश्वकपमा लगातार ६ खेल जित्ने कीर्तिमान समेत बनाएको छ। सन् २०१० मा स्पेनले लगातार ६ खेल जितेपछि फ्रान्स लगातार ६ खेलमा विजयी हुने पहिलो टिम बन्यो।

अन्तिम १६ मा पुगेको फ्रान्सले समूहमा २ खेलबाट ६ अंक जोडेको छ। यसअघि पहिलो खेलमा फ्रान्सले अस्ट्रेलियालाई हराएको थियो। शनिबार नै समूहमा टयुनिसियालाई हराएको अस्ट्रेलियाले ३ अंक जोडेको छ। पहिलो खेलमा एकआपसमा बराबरी खेलेका डेनमार्क र ट्युनिसियाको भने एक एक अंक छ।