काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) राष्ट्रिय पार्टी बन्ने निश्चित भएको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ६ सिट जितिसकेको जसपाले समानुपातिकमा पनि तीन लाख मत कटाएको छ ।
८७ लाख मतगणना हुँदा उसले तीन लाख ३३० मत पाइसकेको छ । राष्ट्रिय पार्टी हुन कम्तीमा तीन प्रतिशत मत ल्याउनुपर्ने थ्रेस होल्ड छ । जसपाले सो थ्रेस होल्ड कटाउने निश्चित भएको हो ।
समग्रमा २३ लाख ९१ हजार ७७८ मतका साथ नेकपा एमाले शीर्ष स्थानमा छ भने नेपाली कांग्रेस २२ लाख ८३ हजार ६९० मतका साथ दोस्रो स्थानमा छ । तेस्रो स्थानको नेकपा माओवादी केन्द्रको मत ९,९९,८९० पुगेको छ ।
यस्तै चौथो स्थानको राष्ट्रिय स्वतन्त्र पार्टीले ९,५८,७०३ मत पाउँदा पाँचौ स्थानको राप्रपाले ५,०९,४४२ मत पाएको छ । छैटौं स्थानमा जसपा रहेको छ । सातौं स्थानमा सीके राउतको जनमत पार्टीले मत २,३५,८०१ पाउँदा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजावदीले २,३५,३५९ मत पाएको छ ।