महानगरका प्रहरीमाथि आक्रमण गर्नेविरुद्ध उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीमा नगर प्रहरीलाई आक्रमण गर्नेहरुमाथि उजुरी परेको छ । महानगर प्रहरीमाथि सांघातिक आक्रमणको नेतृत्व गर्ने तथा संलग्न हुने व्यक्तिहरुको नाम समेत खुलाई कारबाहीका लागि काठमाडौंस्थित महानगरीय प्रहरी परिसर टेकुमा पत्राचार गरेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । अनधिकृत संरचना निर्माण गर्ने व्यक्तिहरुले धारिलो हतियार, ढुंगा, मुढासहितका सामग्री बोकेर आपराधिक मनसायले महानगर प्रहरी बलका प्रमुख सहित १८ जना नगर प्रहरीलाई आक्रमण गरी गम्भीर घाइते बनाएको उनले बताए ।

आक्रमणबाट गम्भीर घाइते भएका नगर प्रहरी शर्मिला बोगटी सहित तीन जनाको आईसीयमा राखेर उपचार भइरहेको बताइएको छ । सार्वजनिक जग्गामा निर्माण गरिएको अनधिकृत संरचना हटाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट पटक-पटक सार्वजनिक सूचना गरिएको, सम्बन्धित स्थानीय प्रशासनसँग समेत समन्वय तथा पत्राचार भएतापनि नहटाएको महानगरले जनाएको छ । प्रवक्ता मानन्धरका अनुसार समितिको अनुरोधमा महानगर प्रहरी बलका प्रमुखसहितका नगर प्रहरीको टोली सुकुम्बासी बस्ती खाली गराउन पुग्दा आक्रमणमा परेको बताए ।