मेलम्चीको पानी आजबाट धारा-धारामा वितरण

काठमाडौं । मेलम्ची आयोजनाको खानेपानी वितरण आजबाट वितरण गरिने भएको छ । शुक्रबार खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले महाँकालस्थित उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)बाट पानी वितरण सुरु गर्ने कार्यक्रम छ । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार आजदेखि लगातार ६ महिनासम्म पानी वितरण गर्ने योजना छ ।

यसअघि २०७७ साल चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायी रुपमा काठमाडौं उपत्यकामा वितरण गरिएको थियो । तर जेठ मसान्तमा मेलम्ची खोलामा आएको बाढी पहिरोले मुख्य सुरुङ बाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो । मर्मत सम्भार गरेर २०७८ चैतमा दोस्रोपटक मेलम्चीको पानी वितरण गरिएको थियो । वर्षा सुरु भएपछि पुनः बन्द गरेर अहिले हिउँदमा पानी वितरण थालिएको हो ।

यही मंसिर ११ गते आइतबार साँझदेखि हालेको पानीले सुरुमा सुरुङ सफा गरिएको थियो । १९ गतेदेखि सुरुङमा पानी भर्न थालिएको थियो । केही दिन सुरुङमा भरिएको पानी बिहीबारदेखि महाँकालचौर शाखामा पठाइएको थियो । आज बिहान मन्त्री चौधरीले महाँकालचौरबाट पानी वितरण सुरु गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । केयूकेएलका अनुसार काठमाडौं उपत्यकामा अहिले दैनिक १० करोड लिटर र पछि १७ करोड लिटर पानी वितरण गर्ने योजना छ ।