ब्राजिल क्वाटरफाइनलमा पराजित, क्रोयसियाले पेनाल्टीमा हरायो

काठमाडौं । पेनाल्टी शूट आउटमा ब्राजिललाई हराउँदै क्रोएसिया कतारमा जारी फिफा विश्वकपको सेमिफाइनल पुगेको छ । एजुकेसन सिटी स्टेडियममा शुक्रबार सम्पन्न पहिलो क्वाटरफाइनलमा क्रोएसियाले पेनाल्टी शूटआउटमा ब्राजिललाई ४–२ ले हरायो । हारपछि उपाधि दाबेदार तथा सर्वाधिक ५ पटकको विजेता ब्राजिल क्वाटरफाइनलबाटै बाहिरियो ।

क्रोएसियाले यसअघि अन्तिम १६ को खेलमा गोलकिपर लिभाकोभिच नायक बन्दा जापानलाई पेनाल्टी शूटआउटमा हरायो । क्रोएसिका लागि पेनाल्टी प्रहार गरेका निकोला भ्लासिक, लोभरो माजेर, लुका मोडरिच, मिस्लाभ ओर्सिस सबैले गोल गरे । क्रोएसियाका लागि गोलकिपर फेरी नायक बने । उनले ब्राजिलका रोड्रिगोको पहिलो प्रहार नै बचाएका थिए । ब्राजिलका लागि कासेमिरो र पेड्रोले मात्र गोल गरे । चौथो नम्बरमा पेनाल्टी प्रहार गरेका मार्क्विन्होसको प्रहार पोष्टमा लागेपछि क्रोएसियाको जित निश्चित भएको थियो ।

त्यसअघि निर्धारित ९० मिनेटमा दुई टोलीले गोल गर्न नसकेपछि खेलमा ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । पहिलो हाफमा ब्राजिलले गोलका लागि लगातार प्रयास गरेपनि क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले निर्धारित ९० मिनेटमा ब्राजिलका ८ सेभ गरेका थिए । पहिलो हाफमा ब्राजिलले क्रोएसियामाथि लगातार आक्रमक गरेको थियो । अतिरिक्त समयमा दुवै टोलीले गोल गर्ने प्रयास गरेका थिए र दुवैले एक एक गोल गरे ।

अतिरिक्त समयको पहिलो हाफको इन्जुरी टाइममा नेमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । उक्त गोलसँगै नेमारले ब्राजिलका लागि सर्वाधिक ७७ गोल गर्ने पेलेको कीर्तिमान समेत बराबरी गरे । ११७औं मिनेटमा क्रोएसियाले बराबरी गोल फर्कायो । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ब्रुनो पेटकोभिचले ११७औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । त्यही गोलले क्रोएसिया खेलमा फर्कियो र पेनाल्टी शूटआउटमा जित निकाल्यो ।