काठमाडौं । अर्जेण्टिना जारी विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ । गोलकिपर एमिलियानो मार्टिनेजले नायक बन्दै दुई पेनाल्टी रोकेसँगै नेदरल्याण्ड्सलाई पेनाल्टी शूटआउटमा ४–३ ले हराउँदै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनलमा पुगेको छ । अब उसको भेट क्रोयसियासँग हुनेछ । लुसेल आइकोनिक स्टेडियममा भएको नाटकीय र तनावपूर्ण दोस्रो क्वाटरफाइनलमा मार्टिनज नायक बने ।
अर्जेन्टिना ८ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुग्न सफल भयो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शूटआउटमा पुगेको हो । जहाँ अर्जेन्टिनाका लागि कप्तान लिओनल मेसी, लिएनड्रो परेडेस, गोन्जालो मोनिटेल र लाउटारो मार्टिनेजले गोल गरे । एन्जो फर्नान्डेसको प्रहार पोष्ट बाहिर गएको थियो ।
नेदरल्याण्ड्सका लागि टिउन कुपमाइनर्स, वाउट वेघोस्ट लुक डे जोङले गोल गरे । अर्जेन्टिनाको जितमा नायक बनेका मार्टिनेजले डच कप्तान भर्जिल भान डाइक र स्टेभेन बर्गुइसको प्रहार बचाए । खेलको ३५औं मिनेटमा मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । कप्तान लिओनल मेसीले उपलब्ध गराएको उत्कृष्ट पासमा मोलिनाले गोल गरे । गत वर्ष राष्ट्रिय टिममा डेब्यु गरेका मोलिनाको अर्जेन्टिनाको लागि यो पहिलो गोल हो । मेसीले विश्वकपको नकआउट चरणमा पाँच असिस्ट गर्दै सर्वाधिक असिस्ट गर्ने खेलाडीमा पेलेलाई पछि पार्न सफल भए । पहिलो हाफमा अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा पनि गोल थप्यो । यस पटक मेसीले पेनाल्टीमा गोल गरे ।
नेदरल्याण्ड्सका डेन्जल डमफ्राइझले मार्कोस अकुनालाई फाउल गरेपछि प्राप्त पेनाल्टीमा मेसीले ६३औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए । जारी विश्वकपमा मेसीको यो चौथो गोल हो । उनी सर्वाधिक गोल गर्नेमा फ्रान्सका किलिएन एमबाप्पे भन्दा एक गोलले पछि छन् । दुई गोलले पछि परेको नेदरल्याण्ड्सले उत्कृष्ट पुनरागमन गर्दै खेल बराबरी गर्यो ।
वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेको वाउट वेघोस्टले ८३औं मिनेटमा गोल गर्दै डच टोलीलाई खेलमा फर्काउने प्रयास गरे । ९० मिनेटको खेलपछि १० मिनेटको इन्जुरी टाइम थप गरिएको थियो । जसको अन्तिम मिनेटमा नेदरल्याण्ड्सले बक्स बाहिर फ्रिकिक पायो । त्यसमा टम कुपमाइनरसको उत्कृष्ट पासमा वेघोस्टले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।