काठमाडौं । कतारको राजधानी दोहाबाट विश्वकप फुटबल २०२२ को रिपोर्टिङ गरिरहेका अमेरिकी पत्रकारको निधन भएको छ । पत्रकार ग्रान्ट वाह्लको निधन भएको अमेरिकी फुटबलले पुष्टी गरेको छ । यूए सकरले शनिबार वक्तव्य निकाल्दै उनको शुक्रबार निधन भएको पुष्टी गरेको छ । लुसेल रंगशालामा खेल हेर्ने क्रममा उनलाई हृदयघात भएको समाचारमा उल्लेख छ । गार्डियनका अनुसार उनी रंगशालाको प्रेस बक्समा बसेका थिए । उनी खेल चल्दाचल्दै नै एक्कासि ढलेका थिए ।
पत्रकारहरूले त्यसपछि मेडिकल टिमलाई बोलाएका थिए । रंगशालामै उनलाई २० मिनेटसम्म सीपीआर गरिएको थियो । अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको क्वार्टफाइनलको खेलको रिपोर्टिङका क्रममा निधन भएको अमेरिकी मिडिया एनपीआरले जनाएको छ । त्यस्तै यूएस सकरले फुटबलका प्रशंसक र उच्च स्तरको पत्रकार गुमाउनु पर्दा दुःखी भएको उल्लेख गरेको छ ।