विषाक्त खानाका कारण पाहुना बिरामी परेपछि चितवन गार्डेन रिसोर्टलाई ३ लाख जरिवाना

काठमाडौं । विषाक्त खानाका कारण पाहुना बिरामी परेसँगै चितवन गार्डेन रिसोर्टलाई तीन लाख रुपैयाँ जरिवाना हुने भएको छ । अनुगमन समितिले प्रमुख जिल्ला अधिकारी समक्ष उक्त जरिवाना सिफारिस गरेको हो । मङ्सिर २३ गते सीजीआरमा भएको विवाहका जन्तीले खाएको खानामा विषाक्त वस्तु भेटिएपछि होटललाई जरिबाना गर्न सिफारिस गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी एवम् बजार अनुगमन समिति चितवनका संयोजक चिरञ्जीवी शर्माको संयोजकत्वमा सरोकारवालासहित टोलीले अनुगमनपछि आज प्रतिवेदन प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई बुझाएको छ ।

समितिले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६(२) अनुसार अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरी गुणस्तरहीन खाद्यवस्तु उत्पादन गरी सेवा प्रवाह गरेकाले त्यही ऐनको दफा ३९ को १ (ख) अनुसार अधिकतम तीन लाख रुपैयाँ जरिबाना तिराउन प्रमुख जिल्ला अधिकारीसमक्ष सिफारिस गरेको छ । अनुगमन समितिले होटलले गरेको लापरबाहीपूर्ण कार्यका सात बुँदे कैफियतका आधारमा जरिबाना सिफारिस गरेको हो ।

अनुगमन समितिसमक्ष होटल सञ्चालकले सिल खोली दिन र सात दिनको समय दिन माग गरेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए । गएको मङ्सिर २३ गते नवलपुरको गैँडाकोट–१ का गणेश ढकाल र भरतपुर–१० की करिश्मा अधिकारीको यस होटलमा भएको एक विहे भोजमा सहभागी भएका दुवै पक्षका झण्डै तीन सय जना खाना खाएपछि बिरामी भएका थिए ।

समितिको प्रतिवेदनमा सलाद सफा गर्न प्रयोग गरिएको रसायन उपभोग्य मिति समाप्त भएको, ढोका तथा झ्यालमा जाली नभएको, झिङ्गा देखिएको, कामदारको सरसफाइको अवस्था सन्तोषजनक नभएको उल्लेख छ । यसैगरी भान्सा र भाँडा माझ्ने ठाउँ एकै ठाउँमा रहेको, पिनट बटर र रसवरी उपभोग्य मिति समाप्त भएको र अभिलेख प्रणाली राम्रो नभएको उल्लेख छ ।