काठमाडौं । कतारमा जारी २२औं फिफा विश्वकपमा तेस्रो स्थानका लागि आज क्रोएसिया र मोरोक्कोबीच खेल हुँदैछ । सेमी फाइनलमा पराजित भएका यी दुई टोलीले तेस्रो स्थानका लागि आज खेल्दैछन् । खेल राति ८ : ४५ बजे खालिफा स्टेडिएममा हुनेछ । क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० ले पराजित भएको हो ।
सेमिफाइनलमा मोरोक्को भने फ्रान्ससँग २–० ले पराजित भएको हो । यी दुवै टोलीको समूह चरणमै भेट भएको थियो । उक्त खेल बराबरी गर्दै दुवै टिमले अंक बाँडेका थिए । क्रोएसिया साविकको उपविजेता हो भने मोरोक्को पहिलो पटक सेमिफाइनलसम्म पुगेको राष्ट्र हो । यो विश्वकपको फाइनल खेल भने आइतबार राति पौने ९ बजे हुनेछ । फाइनलमा साविक विजेता फ्रान्स र पूर्वविजेता अर्जेन्टिना प्रतिस्पर्धा गर्दैछन् ।