नेप्सेमा सामान्य सुधार, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । सेयर बजारमा झिनो अंकको कमब्याक भएको छ । गत मंगलबारदेखि लगातार ओरालो लागेको नेप्से आज ३ अंकले बढेको हो ।

सूचकमा झिनो सुधार आए पनि कारोबार रकममा भने गिरावट आएके छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २७ करोडले घटेर १ अर्बभन्दा कममा सीमित भएको छ ।

सोमबार नेप्से ३.८३ अंकले बढेर १८५८.८९ विन्दुमा पुगेको छ । यसदिन २५१ कम्पनीको ८८ करोड ८१ लाख रुपैयाँ बढीको २६ लाख ९९ हजार ३३१ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहकाे घटेको छ । अन्य उपसमूह सबैभन्दा धेरै १.९५ प्रतिशतले बढेको छ ।

आज प्राइम कमर्सियल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, फरवार्ड माइक्रोफाइनान्स साढे ५ करोड र हिमालयन डिस्ट्रीलरी ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

झिनो अंकले बढेको बजारमा आज धौलागिरी लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, खप्तड लघुवित्त ६.०८, सीवाइसी नेपाल लघुवित्त ५.९८, नबिल ब्यालेन्स फण्ड २ को सेयर मूल्य ५.०९ प्रतिशतले बढेको छ ।