प्रचण्डको नेतृत्वमा तीन उपप्रधानसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीले शपथ लिएसँगै ३ उपप्रधानमन्त्री र ४ मन्त्रीले शपथ लिएका छन् । माओवादी केन्द्रबाट २, एमालेबाट ४, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबाट १-१ जना मन्त्री बनेका हुन्।

उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन् ।

पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्माल्नेछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषद्मा तीन मन्त्रीले बिनाविभागीय मन्त्रीको शपथ लिएका छन् ।

नेकपा (एमाले)का राजेन्द्र राई, दामोदर भण्डारी र जनमत पार्टीका अब्दुल खानले बिनाविभागीय मन्त्रीको शपथ लिएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसहित सात दलको समर्थनमा तेस्रो पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका हुन्।