अझै घट्यो काठमाडौंको न्यूनतम तापक्रम

काठमाडौं । देशभर चिसो बढ्ने क्रम जारी छ । मंगलबार काठमाडौंमा यस सिजनकै सबैभन्दा कम न्यूनतम तापक्रम मापन भएको छ । यस दिन न्यूनतम तापक्रम ४.४ सेल्सियस मापन भएको छ । आज देशका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १ र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

यसका साथै आज कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भू–भागमा भने सफा हुने महाशाखाले जनाएको छ । मौसम बदली भइरहँदा काठमाडौंको तापक्रम पनि निरन्तर घटिरहेको छ । हरेक दिन केही मात्रामा काठमाडौंको तापक्रम घटिरहेको मौसम विद्हरूले बताएका छन् ।