अन्तर्राष्ट्रिय यात्रुलाई अनिवार्य गरेको क्वारेन्टाइन चीनले हटायो

काठमाडौं । चीनले अन्तर्राष्ट्रिय यात्रुका लागि अनिवार्य गरेको क्वारेन्टाइन हटाएको छ । यो निर्णय आगामी पुस २४ (जनवरी ८ बाट लागु हुने छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सोमबार विज्ञप्ति निकाल्दै नयाँ वर्षको पहिलो सातादेखि चीन आउने कुनै पनि अन्तर्राष्ट्रिय पर्यटकले क्वारेन्टाइन बस्नु नपर्ने बताएको हो । यो सँगै चीनले करिब ३ वर्षपछि आफ्नो अन्तर्राष्ट्रिय सीमा पुनः सूचारु गरेको छ । अब यात्रुलाई चीन जान ४८ घण्टा पुरानो कोभिड नेगेटिभ रिपोर्ट भए पुग्छ ।

डिसेम्बरको सुरूमा भएको सरकार विरोधी प्रदर्शनपछि सी जिनपिङ प्रशासनले शून्य कोभिड नीतिलाई केही खुकुलो बनाएको हो । पछिल्लो समय क्वारेन्टिनमा बस्नु पर्ने अवधि भने निकै कम गरिएको थियो। शुरूमा तीन साताको अनिवार्य क्वारेन्टिन तोकिएकोमा हाल पाँच दिनमात्र क्वारेन्टिनमा बस्नु पर्ने नियम रहेको छ। प्रतिबन्धहरु खुकुलो पारिएपछि चीनमा कोरोना संक्रमणको दर र अस्पतालहरुमा बिरामीको चाप हृवात्तै बढेको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन्।

संक्रमणको दर बढेसँगै चीनले कोभिड संक्रमितको दैनिक तथ्यांक सार्वजनिक गर्ने काम पनि बन्द गरेको छ। चीनमा दैनिक हजारौँ मानिसले ज्यान गुमाइरहेको हुन सक्ने आशंका गरिएका छन्। यद्यपि, यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । मार्च २०२० देखि चीन आउने सबै अन्तर्रष्ट्रिय यात्रुले अनिवार्य केन्द्रीकृत क्वारेन्टाइन बस्नुपरेको थियो।