अमेरिकाले चीनबाट आउने यात्रुलाई गर्यो कडाई

काठमाडौं । अमेरिकाले चीनबाट आफ्नो देश आउने यात्रुलाई कडाई गरेको छ । आगामी जनवरी ५ देखि चीनबाट अमेरिका भित्रने यात्रुले अनिवार्य रूपमा कोभिड निगेटिभ रहेको रिपोर्ट पेस गर्नुपर्ने नियम लागू गर्दै यात्रामा कडाइ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो नियम मुख्य भूमि चीन, हङकड्ड र मकाउबाट आउने दुई वर्षमाथिका सबै हवाई यात्रुमा लागू हुनेछ।

यो नियम तेस्रो मुलुक हुँदै आउने यात्रुका साथै अमेरिका हुँदै अन्य गन्तव्यमा जान चाहने यात्रुका हकमासमेत लागू हुने अमेरिकी स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यात्रुले प्रस्थानको बढीमा ४८ घन्टाअघि कोभिड जाँच गराउनु पर्नेछ । कोरोना संक्रमणको यथास्थितिबारे चीनले पारदर्शी र पर्याप्त तथ्यांक सार्वजनिक नगरेको आरोपसमेत अमेरिकाले लगाइएको छ । यसअघि भारत, ताइवान, जापान, मलेसिया र इटालीले पनि चीनबाट आउने यात्रुलाई कडाई गर्न थालिसकेका छन्।

करिब तीन वर्षदेखि लागू गरेको शून्य कोभिड नीति अन्तर्गतका कडाई खुकुलो पारेसँगै चीनमा संक्रमण हृवात्तै बढेको छ। झण्डै तीन वर्षको प्रतिबन्धपछि चीनले जनवरी ८ बाट मानिसहरूलाई सहज रूपमा यात्रा गर्न दिने भएको छ। जनवरी ८ देखि चीन प्रवेश गर्ने विदेशी यात्रुले अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने छैन भने देश बाहिर जान चाहने चिनियाँहरुका लागि पासपोर्ट आवेदन खुला गरिनेछ।